Monday, November 6, 2017

डेंगु | बचाव नै सब भन्दा ठुलो उपचार, कसलाई बढी टोक्छ लामखुट्टेले ?

welcome

डेंगु : बचाव नै सब भन्दा ठुलो उपचार 
उचित सावधानी र सतर्कता अप्नायेर यो रोगबाट बच्न सकिन्छ डेंगुबाट बच्न निम्न कुराहरु प्रति नियमित बानि बसालौ !
१. आफ्नो घरको ओरिपरी पानि जम्मा हुन् नदिऔं ।
२. कुलरको पानि निकालेर कपडाले राम्रो संग सफा गरेर मात्र पुन पानि भरौ ।
३. गमला मा पनि जम्न नदिऔं साथै पानीको टंकी राम्रो संग बिर्कोले छोपौ ।
हाम्रो मुलुकमा केही वर्षयता लामखुट्टेद्वारा हुने संक्रमण डेंगुको विस्तार भइरहेको छ । यो वर्षसमेत तराईका सबै जिल्लामा डेंगु भेटिएको छ भने पहाडी जिल्लाहरूमा समेत यो रोग फैलिरहेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, यस वर्ष शुक्रबारसम्म डेंगुको प्रयोगशाला प्रमाणित ३ सय ८ भन्दा बढी रोगि देखिएका छन् । 

विज्ञहरूका अनुसार, मुलुकमा वास्तविक डेंगु संक्रमितहरूको संख्या सरकारी तथ्यांकको दाँजोमा धेरै बढी छ । विश्वभरिमा डेंगु प्रभावितको वास्तविक संख्या सार्वजनिक हुन नसकिरहेको र थुप्रै केसको गलत वर्गीकरण गरिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले उल्लेख गरेको छ । 

मुलुकमा डेंगु उत्पन्न गर्ने भाइरसका चारवटै प्रकार डेन–१, डेन–२, डेन–३ र डेन–४ पाइन्छ । ‘एक प्रकारको डेंगु भएकालाई त्यही वा अर्को वर्ष अन्य प्रकारको डेंगु भए बढी खतरा हुन्छ’, इपिडिमियोलजी शाखाका प्रमुख डा. गुणनिधि शर्मा भन्छन् । उनका अनुसार, मुलुकमा यो संक्रमण उत्पन्न गर्ने चारै प्रकारको भाइरस भएकोले संक्रमण भएपछि जटिलता हुन सक्ने जोखिम बढी देखिएको हो । एक पटकमा एक प्रकारको डेंगु भएपछि त्यही व्यक्तिलाई जीवनभर त्यस्तै खाले डेंगुले खासै असर पार्दैन । 

डब्लूएचओका अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्घि भएको छ । हालैको आकलनअनुसार विश्वव्यापी रूपमा वर्षेनि ३९ करोड डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ । 

 के हो डेंगु ?

डेंगु एडिस एगेप्टी नामक दिउँसो टोक्ने पोथी लामखुट्टेले टोकेर हुने डरलाग्दो भाइरल संक्रमण हो । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार, डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ । 

यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदैन । डेंगुको लक्षण संक्रमण भएको तीनदेखि चौध दिनभित्र देखिन्छ । यसको लक्षण भने एउटाभन्दा बढी हुन सक्छ । यसको संक्रमण भएमा चिसो लाग्नुका साथै ज्वरो, टाउको दुखाइ, हाड तथा जोर्नी दुखाइ, आँखा दुखाइ, वाकवाकी, वान्ता, छालामा बिमिरा, रक्तस्राव लगायतका हुन् । यस्तै, डेंगुको संक्रमणमा शरीरमा प्लेटलेट्सको संख्या चिन्ताजनक स्तरसम्म तल झर्न सक्छ । यसमा छाला, आमाशय, आन्द्रा आदि ठाउँबाट असामान्य रक्तस्राव हुन सक्छ । एउटा सामान्य चोट लाग्दासमेत निकै रगत बग्न सक्छ । यो भाइरसको कुनै उपचार छैन । यसमा सहायतात्मक उपचार मात्र गरिन्छ । 

कसरी फैलिन्छ ?

डेंगु ज्वरोले पीडित व्यक्तिको रगतमा डेंगुको भाइरस धेरै बढी मात्रामा हुन्छ । एडिस लामखुट्टेले यस्ता बिरामीलाई टोक्दा उनीहरूको रगत चुस्ने गरेका छन् । यसरी रगतसँगै डेंगु भाइरस समेत लामखुट्टेको शरीरमा प्रवेश गर्छ । लामखुट्टेको शरीरमा डेंगु भाइरसको केही दिनसम्म विकास हुन्छ । यसपछि जब डेंगु भाइरस भएको लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्दा उसको शरीरमा समेत डेंगुको भाइरस पुग्छ र उसमा पनि यो ज्वरो विकसित हुन्छ । 

कसरी गरिन्छ उपचार ?

डेंगु ज्वरोको कुनै उपचार छैन । यसमा राहत प्रदान गर्न बिरामीमा देखिएका लक्षणहरूलाइ कम गर्न उपचार गरिन्छ । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ । डेंगु ज्वरोको उपचारमा एकरूपता ल्याउन इपिडिमियोलजीले ‘मार्गदर्शन’ समेत तयार गरेको छ । 

डेंगु ज्वरो तीन प्रकारको हुन्छ : सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । 

डेंगुको सामान्य खालको बिरामी स्वास्थ्य निकायको बहिरंग विभागमा आउँदा सल्लाह सुझाव दिएर पठाउने गरिएको छ । डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यो स्थितिमा बिरामीलाई भर्ना गरेर राम्रोसँग अनुगमन गर्नुपर्ने डा. शर्मा बताउँछन् । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ ।

क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफैं निको हुन्छ यसमा मृत्युसमेत हुँदैन । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुन सक्छ । 

डेंगुको पुन: संक्रमण हँुदासमेत बिरामीमा जटिलता देखिन सक्ने सम्भावना हुन्छ । चारमध्ये कुनै एक प्रकारको डेंगु भाइरसबाट संक्रमण भएकाहरूमा पुन: अर्को प्रकारको भाइरसले डेंगु उत्पन्न गर्दा खतराको स्थिति आउन सक्ने डा. शर्मा बताउँछन् । यसअन्तर्गत बिरामी सकमा जाने, हेमोरेजिक (रक्तस्रावयुक्त) मा जाने खतरा हुन्छ । 

डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन । चिकित्सकीय सल्लाहपछि मात्र यस्ता ज्वरो र दुखाइनाशक औषधि उपयोग गर्नुपर्छ । 

साधारण, हेमोरेजिक र सक सिन्ड्रोम 

डेंगु ज्वरो साधारण, हेमोरेजिक र सक सिन्ड्रोम गरी तीन प्रकारका हुन्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार साधारण डेंगु ज्वरोमा चिसो लाग्नुको साथै अचानक तीव्र ज्वरो आउँछ । बिरामीले टाउको मांसपेशी जोर्नीमा दुखाइ अनुभव गर्छन् । आँखाको गेडीमा दुखाइ हुन्छ, आँखालाई हल्लाउँदा वा थिच्दा यो दुखाइ बढ्छ । बिरामीले वाकवाकी, भाक नलाग्नु, अत्यन्त कमजोरी अनुभव गर्छन् । बिरामीले घाटीमा दुखाइ अनुभव गर्न सक्छन् भने शरीरमा गुलाफी रातो बिमिरा आउन थाल्छ । पाँचदेखि सात दिनसम्म ज्वरो रहन सक्छ । बिस्तारै बिरामी आफैं निको हुने डा. पुन बताउँछन् । 

साधारण डेंगु ज्वरोको लक्षणसँगै गिजा, नाक, दिसा, वान्तामा रगत जानु डेंगु हेमोरेजिक ज्वरोको लक्षण हो । यसमा छालामा गहिरो नीलो कालो रंगको सानो वा ठूलो दाग देखिन्छ । यस्तो हुनु छालामुनि रक्तस्रावको लक्षण रहेको डा. पुन बताउँछन् । 

डेंगु हेमोरेजिक ज्वरोको लक्षणसँगै यदि बिरामी धेरै बेचैन छ, तीव्र ज्वरो भए पनि छालामा चिसो अनुभव गरिरहेको छ, बिस्तारै बिरामी होस गुमाउँदै गएको छ, नाडीको चाल तेज या कमजोर छ एवं बिरामीको रक्तचाप कम हुन थाल्नु बिरामी सक सिन्ड्रोममा गएको अवस्था रहेको डा. पुन बताउँछन् । 

डेंगु, चिकनगुनिया र सामान्य ज्वरोमा अन्तर

हाल देखिने गरिएको ज्वरो डेंगु, चिकनगुनिया वा सामान्य हो, यसबारे हामीलाई अन्तर छुट्टयाउन गाह्रो हुन्छ । यसले गर्दासमेत थप जटिलता निम्तिने गरेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार डेंगु र चिकनगुनियाको लक्षण करिब मिल्दोजुल्दो नै भए पनि चिकिनगुनियाको दाँजोमा डेंगु बढी खतरनाक हुन्छ । 

चिकनगुनियाको ज्वरो एकदेखि बाह्र दिनसम्म हुन्छ यसमा जोर्नीको दुखाइ धेरै दिनसम्म रहन सक्छ । तर डेंगुमा तीनदेखि सात दिनसम्म ज्वरो रहन्छ । रगतमा प्लेटेलेटसको मात्रा कम भएर शरीरमा बढी कमजोरी अनुभव हुने डा. पुन बताउँछन् । सामान्य ज्वरोमा भने शरीरको तापक्रम केही समयमा नियन्त्रित हुन्छ भने यसमा जोर्नीमा दुखाइ हुँदैन । 

चिकनगुनियामा हात र खुट्टाको जोर्नीमा दुखाइ, सुन्नाइ हुन्छ । यो दुखाइ बिहानपख बढी हुने गरेको औँल्याउँदै डा. पुन भन्छन्, ‘डेंगुमा कमरको मांशपेशी दुख्न थाल्छ, घुडामा समेत पीडा हुन्छ । 

सामान्य ज्वरोमा यस्तो खाले पीडा हुने गरेको छैन ।’ 

चिकनगुनियामा हातखुट्टासँगै सम्पूर्ण शरीरमा बिमिरा हुन्छन् । डेंगुमा भने बिमिरा अनुहार र छालामा मात्र हुन्छ । सामान्य ज्वरोमा शरीरमा बिमिरा हुँदैन । 

रोकथाम 

डेंगु ज्वरोबाट बच्ने उपाय एडिस लामखुट्टेको प्रजननलाई रोक्नु र यसको टोकाइबाट बच्नु हो । डेंगु रोग सार्ने लामखुट्टे हलचल नभएको सफा पानीमा फुल पार्छ । त्यसैले यसको प्रजनन स्थल नष्ट गर्नुपर्छ । अर्थात्, घरको वरपर बट्टा, टायर, खाल्डो आदिमा पानी जम्न दिनु हुँदैन । झ्याल, ढोकामा तारको जाली लगाएर घरमा लामखुट्टेको प्रवेश रोक्नुपर्छ । 

लामखुट्टेलाई भगाउन, क्रिम, क्वाइल रिपल्यान्ट आदिको प्रयोग गर्नुपर्छ । राति मात्र नभई दिउसोसमेत सुत्ने बेलामा झुलको प्रयोग अत्यावश्यक छ । 

लुगाफाटामा समेत ध्यान दिनुपर्छ । यस्तो लुगा लगाउनुपर्छ जसमा शरीरको धेरैजसो भाग छोपिएको होस् । अझ बालबालिकाको लुगामा भने विशेष ध्यान नै दिनुपर्ने डा. पुन बताउँछन् । 

कसलाई बढी टोक्छ लामखुट्टेले ? 

लामखुट्टेले कुनै खास व्यक्तिलाई बढी टोक्ने गरेको देख्नुभएको होला । दुई व्यक्तिसँगसँगै भए पनि एउटा बढी त अर्को कम टोकाइले प्रभावित हुन्छन् । केही खास व्यक्तिलाई टोक्न लामखुट्टे बढी रूचाउँछ । 

जर्नल अफ मेडिकल एटोमोलजीमा सन् २००४ मा प्रकाशित एक अनुसन्धानअनुसार, ‘ओ’ रगत समूह भएकाहरूलाई अन्य रगत समूह भएकाको दाँजोमा लामखुट्टेले बढी टोक्ने गरेको छ । यो रगत समूहतर्फ लामखुट्टे सबैभन्दा बढी आकर्षित हुन्छन् । यसपछि ‘ए’ अनि ‘बी’ रगत समूहलाई आफ्नो निसाना बनाउँछन् । उक्त अध्ययनको दाबीअनुसार, ‘एबी’ रगत समूह भएकाहरूलाई सबैभन्दा कम लामखुट्टेले टोक्ने गरेको छ ।

जिनमा समेत लामखुट्टेले बढी टोक्ने कारण लुकेको दाबी एउटा अध्ययनले गरेको छ । जर्नल इन्फेक्सन जेनेटिक्स एन्ड इभोल्युसनमा सन् २०१३ मा प्रकाशित एउटा अध्ययनअनुसार ‘ह्युमन ल्युकोसाइट एटिजेन’ जिन नै लामखुट्टेको टोकाइको जिम्मेवार हुन्छ । यो जिनको प्रभाव शरीरको गन्धमा पर्छ । यो गन्धले गर्दा लामखुट्टे बढी आकर्षित हुन्छन् । 

यस्तै, लामखुट्टे गर्भवती महिलातर्फ समेत बढी आकर्षित हुन्छन् । एनल्स अफ ट्रपिकल मेडिसिन एन्ड प्यारासिटोलजीमा प्रकाशित प्रतिवेदनअनुसार बुढापाका र बालबालिकाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले बढी टोक्ने गरेको छ ।

‘मेटाबोलिज्म’ दर बढी भएका र बढी कार्बनडायक्साइड बाहिर निकाल्नेहरूमा लामखुट्टे बढी आकर्षित हुने भएकोले गर्भवती महिलालाई बढी टोक्ने गरेको हो । गर्भको समय ‘मेटाबोलिज्म’ बढ्ने गरेको छ ।



http://kantipur.ekantipur.com/news/2016-10-22/20161022075141.html

No comments:
Write comments

LightBlog