Sunday, November 26, 2017

२८ वर्षे युवतीको यौन समस्याः करुणा कुँवरको जवाफ

welcome



२८ वर्षे युवतीको यौन समस्याः करुणा कुँवरको जवाफ
डेढ दशकदेखि पारिवारिक, सामाजिक एवं यौन मनोविज्ञानको क्षेत्रमा काम गरिरहेकी मनोविद करुणा कुँवर जर्मनकी चर्चित यौनविज्ञ दोरभि वेनरसँग विगत एक दशकदेखि सहकार्य गरिरहेकी छिन् । संयुक्त राष्ट्रसंघले नेपालमा सञ्चालन गरेका सबैजसो महिला तथा वालवालिकासम्बन्धी कार्यक्रममा कुँवरको संलग्नता छ ।

केही वर्षअघि अश्विनी कोइरालाको ‘उनी’ पुस्तकमा प्रकाशित ‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन’ शीर्षकको करुणाको अन्तरवार्ता इन्टरनेटमा भाइरल बनेको थियो ।


यौन मनोविज्ञ करुणाले अडियो-भिजुअल एवं पत्रहरुमार्फत विभिन्न मानिसका यौनसम्बन्धी जिज्ञासा समाधान गर्ने गरेकी छिन् ।

हामीले यहाँ केही यौनजन्य समस्यामा पिरोलिएका व्यक्तिलाई करुणासँग साक्षात्कार गराउने प्रयास गरेका छौंः


म २८ वर्षकी युवती हुँ । मेरो नाम नमूना हो । मेरो विवाह भएको तीन वर्ष भयो । श्रीमान् राम्रो पैसा कमाउनुहुन्छ । बाहिरबाट हेर्दा हाम्रो जीवन निकै खुसी देखिन्छ । तर, भित्र त्यस्तो छैन । बीचमा हाम्रो कहिल्यै मीठो अनुभूति महसुस गर्नेखालको यौन सम्पर्क हुन सकेन । सुरु सुरुमा मेरा श्रीमानले निकै माया गर्नुहुन्थ्यो । तर, आजभोलि प्रेममा कमी आइरहेको छ । आजभोलि त उहाँ मसँग खासै बोल्नुहुन्न । घर पनि ढीलो आउनुहुन्छ र विहानै निस्कनुहुन्छ । म सधैं एक्लो-एक्लो महसुस गर्छु । 

यसको कारण सायद यौन सम्पर्क हो भन्ने महसुस गर्छु । खासमा सुरुदेखि नै जव यौन सम्पर्कको समय आउँथ्यो, मलाई गाह्रो हुन्थ्यो । सकेसम्म यौन सम्पर्क गर्नु नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । यो समस्या बढ्दै गयो । उहाँकै सल्लाहबाट मैले एकजना मनोबैज्ञानिकसँग सम्पर्क गरेको थिएँ । मनोवैज्ञानिकले मेरो पूरानो जीवनसँग यो समस्याको सम्बन्ध हुनसक्ने कुरा गर्नुभयो । तर, मैले आफूसँग भएको एउटा घटना ती मनोवैज्ञानिकसँग बताउन सकिनँ । आज तपाईंलाई सुनाउँदैछु ।

म हलक्क बढेकी युवती थिएँ । घरमा मलाई देख्नेवित्तिकै यो केटी के राम्री देखिएकी भन्ने गर्थे । त्योबेला सायद १५ वर्षकी थिएँ र एसएलसीको तयारी गर्दैथिएँ । मलाई एकजना नजिकको नातेदारले परीक्षाको तयारी गराउँदै हुनुहुन्थ्यो । उहाँ ४० वर्ष हाराहारीको हुनुहुन्थ्यो । उहाँले पढाउन सुरु गरेको केही दिनपछि नै शरीर सुम्सुम्याउने गर्न थाल्नुभयो । सुरुमा मैले उहाँको सुम्सुम्याइको अर्थ बुझिनँ । तर, जसै बुझ्न थालेँ, मलाई नराम्रो लाग्न थाल्यो । तर, उहाँको व्यवहार बढ्दै गयो । मैले विरोध गर्दा उहाँ मलाई डर र धम्की दिनुहुन्थ्यो । र, एक दिन जबरजस्ती गर्ने प्रयास पनि गर्नुभयो । म कोठा बाहिर निस्कन सफल भएँ ।

त्यो दिनदेखि उहाँले मलाई केही पनि गर्नुभएन र विस्तारै विस्तारै पर हुँदै जानुभयो । तर, जब-जब उहाँलाई देख्थेँ, मलाई बान्ता आउला जस्तो हुन्थ्यो । त्यसपछि मैले कुनै पनि पुरुषसँग प्रेम गर्न सकिनँ । त्यो घटनाको ७ वर्षपछि मेरो विवाह भयो । यो बीचमा केही युवाले प्रेम प्रस्ताव राखे पनि मैले उनीहरुलाई उल्टै गाली गरेँ । विवाहपछि एकै पटक हनिमुन मनाउँदा म यौन सम्पर्कका लागि अयोग्यजस्तै भैसकेँछु । आजभोलि मलाई मेरा श्रीमान् अन्त कतै जानुहुन्छ भन्ने महसुस हुन्छ । उहाँलाई केही भन्न सक्तिनँ कारण कमजोरी मेरै हो । तर, मन मान्दैन । २५ वर्ष नपुग्दै श्रीमानको मायाबाट बाटा हुनुपर्दा अपूर्व पीडा हुन्छ । म के गरौं ?


तपाईले आफ्नो समस्या खुलारुपमा राख्नुभएको छ । यसका लागि धन्यवाद । सायद ३ वर्षको असफल विवाहको अनुभवले परिपक्व बनाएको छ । यो समस्या तपाईंले सुरुमै भेट्नुभएको मनोवैज्ञानिकसँग राख्नुभएको भए आज त्यो समस्या समाधान भैसक्थ्यो । ढिलो त भयो, बिग्रिसकेको छैन । तपाईले भोग्नुभएको कुरालाई ध्यान दिएर विचार गर्नुभयो र मेरा कुरालाई गम्भीरतापूर्वक लिनुभयो भने तपाईंको समस्या समाधान हुने विश्वास दिलाउन चाहन्छु ।



किशोर उमेर संवेदनशील उमेर हो । यसले धेरैलाई आकषिर्त गरिरहेको हुन्छ । तर, आफू कसैको आकर्षणको केन्द्र बनिरहेकी छु र यसको कारण मेरो यौवन हो भनेर बुझ्नुअघि नै कोही अचानक यसरी शारीरिक दुव्र्यवहारमा पर्‍यो भने अचानक मनमा पुरुषहरुप्रति नकारात्मक भावना उब्जन्छ । यो यति गहिरो गरी मनमा बस्छ, लामो समयसम्म समग्र पुरुषप्रति वितृष्णा उब्जन्छ । यस्तो समस्या तपाईंको मात्र होइन, लाखौं वालवालिकाले भोगेको समस्या हो ।

केही समयअघि मानसिक रोगसँग काम गरिरहेको एउटा अन्तर्राष्ट्रिय संस्थाले एकैसाथ २२ वटा देशमा भएका शारीरिक दुब्र्यवहार सम्बन्धी ठूलो सर्भेक्षण गरेको थियो । यो अध्ययनका अनुसार ५ जना युवतीहरुमध्ये १ जना र १२ जना युवाहरुमध्ये १ जना १८ वर्ष भन्दा पहिले यौन दुव्र्यवहारमा पर्ने गरेका छन् । यसरी यौन दुव्र्यवहारमा परेका केटाकेटीहरुलाई शारीरिक र मानसिक असर जस्तै चिन्ता, उदासिपना जस्ता असरहरु परेको देखिन्छ । कतिपयलाई आफ्नो पार्टनर सँग यौन सम्बन्ध राख्न गाह्ो हुन्छ, जुन तपाईले पनि व्यक्त गर्नुभएको छ । त्यसैले यस्तो समस्याको सामना गर्नेमा तपाई मात्र एक्लै हुनुहुन्न ।

अझ भन्नु पर्दा तपाईले आफ्नो समस्या पहिचान गर्नुभएको छ । यो राम्रो पक्ष हो । यस समस्याको समाधान पनि छ । तपाईले अनुभव गर्नु भएको समस्याको पहिचाननै सवैभन्दा महत्वपूर्ण हुन्छ । यसले गर्दा उपचार छिटो हुन्छ र पार्टनरसँगको यौन सम्बन्ध पनि छिटै विकास हुन्छ ।

तपाईको प्रयासले अझै काम गरिरहेको छैन भने तपाईको सम्बन्धलाई बिगार्नबाट बचाउनका लागि तपाईहरु दुवैले खुलेर एकअर्का सँग कुरा गर्नुपर्छ । साथै दम्पत्तिले परामर्श लिन पनि आवश्यक छ । लामो समयसम्म समस्यालाई राखी राख्दा ग्लानी, हीनताबोध, र दम्पत्तिबीचको बुझाइमा कमी आउन थाल्छ ।

तपाईको सन्र्दभमा भन्ने हो भने छिटो भन्दा छिटो मनोविदसँग भेटेर परामर्श लिनु उपयुक्त हुन्छ । किनभने समस्या पहिचान भैसक्यो, अब यो समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा बसेर सल्लाहमा अघि बढ्न सकिन्छ ।

यौनहिंसा भएको इतिहासमा एनोरगाज्मिया वा यौन सम्बन्धको क्रममा चरम सन्तुष्टिमा पुग्न नसक्ने हुन सक्दछ । सामाजिक साँस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन ईच्छालाई प्रकट गर्न नहुने मान्यता छन् । जटिलता वा कठिनाइका बारेमा भनौं वा यौन सम्वन्धलाई फलिभूत बनाउने बारेमा विस्तृत छलफल तथा कुराकानी आवश्यक हुन्छ । भावनाको साटासाट गर्नुपर्ने हुन्छ । तर दुबैका भावनाहरु ब्यक्त नहुनासाथ समस्याहरु बढ्न थाल्छन् । त्यस्तोमा महिलाले एनोरगाज्मिया वा  एकअर्कावीच हुने सम्बन्धमा विभिन्न जटिलता देखिन थाल्छ । पार्टनरले कम कुराकानी गर्ने, झगडा भैरहने हुन्छ ।

पार्टनरसँग तपाईको मनमा भएको दुविधा अनि तपाईले भोग्नुभएको लामो समयदेखिको समस्याका बारेमा भन्नुहोस्, यदि उहाँ सही पार्टनर हुनुहुन्छ भने अवश्य पनि तपाईको कुरा बुझ्नु हुन्छ ।

तपाईको यौन चाहना नहुनुमा तपाईको या तपाईको पार्टनरको कुनै गल्ती छैन ।  तपाईले बुझ्नैपर्ने कुरा के छ भने हरेक व्यक्ति फरक हुन्छन् । हरेक व्यक्तिको राम्रो पक्ष हुन्छ, । हुनसक्छ, यदि तपाईले कुराकानी गर्ने गर्नुभयो भने श्रीमान्ले यस कुरालाई सकारात्मक रुपमा लिएर उपचारको लागि सहयोग हुन सक्छ ।

कतिपय महिलाहरुले आफूले सामना गरेको समस्याका बारेमा कुराकानी नगर्दा सम्बन्ध राम्रो हुनु भन्दा बिग्रने अवस्था झन् वढी हुन्छ । यदि कुराकानीपछि तपाईका श्रीमानले सहयोगी भावना देखाउनुभएन भने यस्तो सम्बन्धलाई कति समयसम्म राख्ने वा नराख्ने भन्नेबारेमा सोच्न सक्नुहुन्छ ।

श्रीमान्सँगको कुराकानी सकारात्मक रहेमा महिलालाई कसरी उत्तेजना हुन्छ, त्यस्तो विधिको चर्चा गर्न सकिन्छ । यस अन्र्तगत हस्थमैथुन पनि पर्दछ । हस्तमैथुन विधि अपनाउने क्रममा यौन आनन्दको महसूस हुन्छ भने त्यसलाई सफल मानिन्छ । आफूलाई यदि कुनै विधि ठीक लागेमा आफ्नो पार्टनरसँग भन्ने र त्यही विधि अनुसार पार्टनरलाई यौन सम्पर्क राख्न भन्न सकिन्छ ।

नमूना जी, तपाईको बारेमा भन्नुपर्दा तपाई र तपाईका श्रीमानवीच अझै सम्बन्ध जटिल नभई सकेको हुँदा माथि उल्लेखित उपायहरु पछ्याउनुहोला ।

No comments:
Write comments

LightBlog