नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ । दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको भन्दै म्याद थप गर्न आग्रह गरेपछि अत्यावश्यक औषधि अभाव हुने सम्भावना बढेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले म्याद थप्न गरेको आग्रहसँगै देशमा अत्यावश्यक औषधिको अभाव देखिने सम्भावना बढेको बताए । सरकारसँग १५ दिनसम्मलाई मात्रै पुग्ने औषधिको मौज्दात रहेकाले समस्या देखिएको उनको भनाइ छ । नेपाली औषधि उत्पादक कम्पनीलाई स्वास्थ्य मन्त्रालयले प्रवद्र्धन गर्ने र नेपालमा उत्पादन भएका औषधिको विदेशबाट आयातमा रोक लगाउने सरकारको तयारी छ ।
नेपाली कम्पनीले १३ प्रकारका औषधि बनाउने कच्चा पदार्थ ल्याउन नसक्दा अत्यावश्यक औषधिको उपलब्धतामा चुनौती थपिएको छ । नेपाली उत्पादक कम्पनीले ४६ प्रकारका औषधि उपलब्ध गराउने जिम्मा पाएका छन् । ‘औषधिको अभाव नहोस् भन्नेमा हामी थियौँ, तर दुर्भाग्य भन्नुपर्छ, औषधि उपलब्ध गराउने समयमा कच्चा पदार्थको आयातका लागि समय थप गर्नुपर्यो भन्दै नेपाली कम्पनीले निवेदन दिएका छन् । यो आमनागरिकको स्वास्थ्यमा खेलबाड मात्रै होइन, गैरजिम्मेवारीपन पनि हो,’ तिंकरीले भने ।
सरकारले ४६ प्रकारका औषधिको आवश्यकता महसुस गर्दै खुला गरेको टेन्डरमा चार भारतीय र सात नेपाली कम्पनीले औषधि उपलब्ध गराउने जिम्मा पाएका थिए । भारतीय कम्पनीहरूले समयमै औषधि उपलब्धता गराउने अवस्था रहे पनि नेपाली कम्पनीले अहिलेसम्म कच्चा पदार्थ ल्याउन समस्या भएको भन्दै म्याद थप गर्न आपूर्ति व्यवस्था महाशाखामा एक दर्जन बढी निवेदन परेका छन् ।
‘खरिद नियमावलीमा आवश्यक परेको खण्डमा म्याद थप गर्न सकिने उल्लेख छ । यसले गर्दा औषधि उत्पादक कम्पनीहरूलाई सहज भएको छ,’ तिंकरीले भने, ‘औषधि जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो, यसमा अनेक बहाना देखाएर कोही पन्छिन मिल्दैन ।’
No comments:
Write comments