
प्रधानमन्त्रीको दाँत जाँच्ने नक्कली डाक्टर
काठमाडौं । कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका
स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका
अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको
परिचय यतिमै सकिँदैन् ।
उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन् । उनको नियमित
सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन् । चिकित्सकबीच हुने
राजनीतिमा एमाले निकट चिकित्सकका रूपमा परिचित उनले प्रधानमन्त्रीसँग आफ्नो
सामिप्य पुष्टी गर्न पुस र फागुनमा बालुवाटारमै गएर ओलीको दाँतको उपचार
गरेका थिए ।
पहिलो पटक पुस १८ मा श्रेष्ठ मोबाइल डेन्टल भ्यान र चिकित्सकको टोली
लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । श्रेष्ठको नेतृत्वमा
अत्याधुनिक मोबाइल डेन्टल भ्यानसहित पुगेको चिकित्सकको टोलीले बिहान १०
बजेदेखि १२ बजेसम्म ओलीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।
अस्पतालले प्रकाशनका लागि पठाएको विवरणमा उल्लेख भएअनुसार परीक्षणमा संलग्न चिकित्सकले प्रधानमन्त्री ओलीको माथिल्लो भागको दायाँपट्टिको २ वटा बंगाराको एक्सरे गर्दा ४ वटा बंगारा किराले खाएको निष्कर्ष निकाल्यो।
श्रेष्ठसहितको चिकित्सक टोलीले तीमध्ये एक बंगारा निकाल्नै पर्ने अवस्थामा पुगेको निष्कर्ष निकाले पनि प्रधानमन्त्रीको समय नमिलेकाले तत्काल निकालिएन। दाँत सफा गरे, अनि माथिपट्टिको दाहिने बंगारा र तलपट्टिको देब्रे बंगारामा फिलिङ गरेर टोली फर्कियो।
श्रेष्ठ नेतृत्वकै टोली पुन: फागुन १९ मा प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाँतको उपचार गर्यो। ओलीको तल्लो भागको दाँत धारिलो हुँदा जिब्रोमा घाउ हुन थालेपछि प्रधानमन्त्रीका सहयोगीले श्रेष्ठलाई बोलाएका थिए।

